
काठमाडौं । अमेरिकी सांसद्हरूले राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनका सदस्यहरूलाई संविधानको २५औं संशोधन लागू गरेर पदबाट ट्रम्पलाई हटाउन माग गरेका छन् ।
यो संशोधनमा राष्ट्रपतिले सेवा गर्न नसके सत्ता हस्तान्तरण गर्न मिल्ने व्यवस्था छ । अमेरिकी संसद्को तल्लो सदनका सदस्य र माथिल्लो सदन सिनेटका सदस्यहरूले यस्तो माग गरेका हुन् । तल्लो सदनकी यास्मिन अन्सारीले ट्रम्पविरूद्ध यो कानुन आकर्षित हुनुपर्ने बताउनुभयो ।
ट्रम्पले अवैध, विध्वंशकारी युद्ध चलाउँदै ठूलो परिमाणमा युद्ध अपराध गर्ने धम्की दिनु गलत भएको उहाँको टिप्पणी छ । यसअघि मिन्नेसोताकी कंग्रेस वुमन इल्हान ओमरले पनि ट्रम्पलाई हटाउनुपर्ने प्रतिक्रिया दिनुभएकाे थियो । यसअघि न्यु मेक्सिकोकी कंग्रेस वुमन मेलानी स्ट्यान्सवरीले पनि ट्रम्पलाई हटाउनुपर्ने माग गर्नुभएको थियो ।
डेमोक्रेटिक सिनेटर क्रिस मर्फीले पनि ट्रम्पलाई हटाउनुपर्ने धारणा राख्नुभएको छ । राष्ट्रपतिलाई यस्ता अमानवीय काममा लगाम लगाउन उनले रिपब्लिकन नेताहरूको आग्रह छ ।