
काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वले विश्वलाई नयाँ संकटतर्फ धकेलिरहेको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानलाई मंगलबारसम्ममा स्ट्रेट अफ हर्मुज खोल्न कडा चेतावनी दिनुभएको छ । तोकिएको समयसीमाभित्र नखोले इरानका प्रमुख पुल, विद्युत् केन्द्र र अन्य पूर्वाधार एकै रातमा ध्वस्त पार्न सकिने धम्की अमेरिकाले दिएको छ ।
यद्यपि, इरानले कुनै दबाब वा धम्कीले पछि नहट्ने अडान राख्दै अस्थायी युद्धविराम अस्वीकार गरेको छ । पश्चिम एसियामा युद्धको अवस्था थप जटिल बन्दै गएको छ । अमेरिकाले इरानलाई अत्यन्त रणनीतिक महत्व भएको स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्न कडा चेतावनी दिएको छ ।
यो चेतावनी अमेरिकी समय अनुसार अप्रिल ७, २०२६ को साँझ ८ बजे भित्र लागू हुने गरी दिइएको थियो । यदि इरानले तोकिएको समयसीमा भित्र आवश्यक कदम चालेन भने एकै रातमा सम्पूर्ण देश ध्वस्त पार्ने र अन्य महत्वपूर्ण पूर्वाधारमा आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी छ ।
राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वलाई जनविरोधी भएको आरोप लगाउनुभएको थियो । अमेरिकाले आवश्यक परे इरानको पूर्वाधार ध्वस्त गर्न सक्ने ट्रम्पको चेतावनी थियो । दुई देशबीचको जारी दीर्घकालिन तनाव फेरि एक पटक विश्व राजनीतिको केन्द्रबिन्दु बनेको छ ।
दशकौं पुरानो रणनीतिक प्रतिस्पर्धा र क्षेत्रीय प्रभावको होडमा यो द्वन्द्व केवल दुई देशबीचको विवादमा सीमित छैन, बरू बदलिँदो विश्व परिवेश व्यवस्थाको महत्वपूर्ण कडि बनेको छ । यता इजरायलले पनि इरानी नागरिकलाई रेल सेवा प्रयोग नगर्न र रेलमार्ग नजिक नजान आग्रह गर्दै आपतकालीन चेतावनी जारी गरेको छ ।
इजरायली सेनाले फारसी भाषामा जारी गरेको चेतावनीमा रेल वा रेलमार्ग नजिक रहँदा जीवनमा गम्भीर खतरा हुन सक्ने बताएको छ । इजरायलले यसअघि नै इरानका प्रमुख पेट्रोकेमिकल केन्द्रहरूमा हवाई हमला गरेको दाबी गरिसकेको छ, जसले इरानको ऊर्जा उत्पादनमा ठूलो असर पारेको देखिन्छ ।
इजरायलले इरानमा निरन्तर लक्षित हवाई आक्रमण गर्ने योजना अघि सारेको छ । इरानले भने अस्थायी युद्धविराम अस्वीकार गर्दै स्थायी रूपमा युद्ध अन्त्य हुनुपर्ने अडान राखेको छ । इरानले दस बुँदे शान्ति प्रस्ताव पनि पेस गरेको थियो, तर अमेरिकी पक्षले यसलाई अपर्याप्त भनेको छ ।
इरानी सर्वोच्च नेता मोजतबा खामेनीको सन्देशमा सैन्य नेतृत्वमाथि आक्रमण भए पनि सेना नडराउने उल्लेख छ । इरानका एक मन्त्रीले युवाहरूलाई विद्युत केन्द्रको सुरक्षा गर्न मानव श्रृंखला बनाउन आह्वान गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इरानले फेरि युद्ध नदोहोरिने प्रत्याभूतिसहित क्षतिपूर्तिको पनि कुरा उठाएको छ । रणनीतिक महत्वको स्टेट अफ हर्मुज आफ्नै अधिनमा रहने कुराको प्रत्याभूति र अन्तराष्ट्रिय मान्यता इरानले खोजेसँगै अमेरिका आक्रामक भएको छ । युद्ध रोक्न पाकिस्तान, इजिप्ट र टर्कीले कूटनीतिक पहल जारी राखेका छन् ।
उनीहरूले तत्काल युद्धविराम र दीर्घकालीन शान्ति वार्ता अघि बढाउने प्रस्ताव गरेका छन् । तर, इरानले अस्थायी युद्धविराम अस्वीकार गरेपछि वार्ता सफल हुने सम्भावना कमजोर भएको छ । दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमण जारी छन् । इजरायलमा मिसाइल आक्रमणबाट मानवीय क्षति बढ्दो छ भने इरानका विभिन्न क्षेत्रमा विस्फोटका घटनाहरु जारी छन् ।
स्ट्रेट अफ हर्मुजमा बढेको तनावले विश्व तेल आपूर्तिमा व्यापक असर परेको छ। हालको परिस्थितिमा अमेरिका र इरानबीच आपसमा धम्की, प्रतिधम्की र प्रत्यक्ष सैन्य आक्रमणबीच शान्ति प्रयास भए पनि तत्काल समाधानको सम्भावना कमजोर देखिन्छ । स्थिति यसैगरी अघि बढ्यो भने, यो द्वन्द्व विश्वव्यापी संकटमा परिणत हुन सक्ने चिन्ता बढिरहेको छ ।