ट्रम्पको धम्कीपछि देशभरका युवालाई एकजुट हुन इरानको अपील

चैत्र २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पको धम्कीपछि देशभरका युवालाई एकजुट हुन इरानको अपील

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको धम्कीपछि इरानले देशभरका युवालाई एकजुट हुन र आफ्नो समर्थन दिन अपील गरेको छ ।

इरानी सरकारले कैयौं विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा संगठनहरुलाई मंगलबार पावर प्लान्ट आसपास मानव श्रृंखला बनाएर उभिन अपील गरिएको अलजजीराले जनाएको छ । यसको उद्देश्य सार्वजनिक संरचनामा अमेरिकी आक्रमणको विरोध गर्नु रहेको बताइएको छ । 

यसअघि ट्रम्पले इरानलाई हर्मुज खोल्न र युद्धविरामका लागि ४८ घण्टाको अविधि दिनुभएको छ । त्यो समय सकिएको छ । ट्रम्पले सोमबार इरानलाई एकै रातमा नष्ट गर्नसक्ने र त्यो मंगलबार नै हुनसक्ने चेतावनी दिनुभएको थियो । यता इजरायलले सोमबार इरानको बुशहर नेभी बेसमा आक्रमण गरेको छ । 

यहाँ नेभल बेसका साथै एयरफोर्स बेस, एयर डिफेन्स सिस्टम, मिसाइल र ड्रोनको अन्डरग्राउन्ड स्टोर रहेको बताइएको छ । सोमबार नै इरानले पनि इजरायलको पेटाह टिकवा सहरमा मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा एक महिला गम्भीर घाइते भएको इजरायली सञ्चार माध्यमले जनाएका छन् । 

 इरान सरकारले अमेरिकी आक्रमणबाट पावर प्लान्ट र ठूला संरचना जोगाउन आफ्ना नागरिकलाई ती क्षेत्रमा मानव श्रृंखला बनाउन अपील गरेको छ । अमेरिकी सेनाले इरानविरुद्ध जारी युद्धमा अहिलेसम्म १३ हजारभन्दा धेरै क्षेत्रलाई निशाना बनाइएको बताएको छ । 

अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार यी आक्रमणमा इरानका १५५ भन्दा धेरै जहाजमा क्षति पुगेको छ ।