पृथ्वीबाट सबैभन्दा टाढाको मानव यात्राको नयाँ कीर्तिमान

चैत्र २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पृथ्वीबाट सबैभन्दा टाढाको मानव यात्राको नयाँ कीर्तिमान

काठमाडौँ । नासाको आर्टेमिस २ मिसनले पृथ्वीबाट सबैभन्दा टाढाको मानव यात्राको कीर्तिमान बनाएको छ । ओरियन अन्तरिक्ष यानमा सवार चार अन्तरिक्ष यात्रीहरूले ५६ वर्ष पुरानो मानव कीर्तिमान भंग गरेका हुन् ।

यसअघि सन् १९७० को अप्रिलमा अपोलो १३ मिसनका सदस्यले बनाएको ४ लाख १ सय ७१ किलोमिटरको रेकर्ड आर्टेमिस २ ले सोमबार तोडेको हो ।

पृथ्वीबाट चन्द्रमाको टाढापट्टिको यात्रामा रहेको आर्टेमिस २ ले करिब ४ लाख ६ हजार ७ सय ८८ किलोमिटरको अधिकतम यात्रा गर्ने अपेक्षा गरिएको छ ।

यो मिसन चन्द्रमाको वरिपरि उड्नेछ । त्यसक्रममा अन्तरिक्ष यात्रीहरूले ६ घण्टाभन्दा बढी समय चन्द्रमाको सतहको अध्ययन र दस्तबेजीकरण गर्नेछन् । यसपछि ओरियन अन्तरिक्ष यान पृथ्वी फर्किनेछ । फिर्ती यात्रा करिब ४ दिनको हुनेछ ।

यसबीच करिब ४० मिनेट ओरियन यान र पृथ्वीको सम्पर्क टुटेको पनि थियो ।