
काठमाडौं । अफगानिस्तानमा शुक्रबार साँझ ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ ।
अफगान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार काबुल प्रान्तमा एउटा घर पूर्ण रूपमा भत्कँदा एकै परिवारका आठ जनाको मृत्यु भएको हो । उक्त परिवारका २ वर्षीय बालक भने बाँच्न सफल भएका छन् ।
भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तत्काल सुरु गरिएको छ । स्थानीय अधिकारीहरूले भूकम्पप्रभावितलाई सुरक्षित स्थानमा सार्ने र घाइतेलाई उपचारको व्यवस्था गर्ने कामलाई प्राथमिकता दिइरहेका छन् ।
विशेषगरी काबुल र उत्तरी प्रान्तहरूमा भूकम्पको प्रभाव अझ बढी देखिएकाले थप सुरक्षा र सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका छन् ।