
काठमाडौँ । कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । उडानको केही समयमै कोलम्बियाको दक्षिणी क्षेत्रमा पेरु र इक्वेडरको सीमानजिकै ‘हर्कुलस सी-१३०’ विमान दुर्घटना भएको थियो ।
गए राति भएको यो दुर्घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि राजधानी बोगोटा र नजिकैका अस्पताल लगिएको छ ।
कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार विमानमा १ सय १४ सैनिक र ११ चालकदलका सदस्य सवार थिए । विमानले सैनिकहरू स्थानान्तरण गर्दै थियो ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले घटनालाई देशका लागि दुखदायी भएको बताउनुभएको छ । उहाँका अनुसार विमानमा आगलागी हुँदा सेनाका गोला बारुद पड्केर घटना भयावह भएको हो । विमान उडेर करिब डेढ किलोमिटर पर पुग्नासाथ दुर्घटनाग्रस्त भएको थियो ।