
काठमाडौँ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पश्चिम एसियामा जारी द्वन्द्वको पूर्ण समाधान निकाल्नेगरी इरानसँग फलदायी वार्ता भएको दाबी गरेसँगै विश्वबजारमा कच्चा तेलको भाउ घटेको छ । आइतबार उच्चतम १ सय ११ डलर प्रतिब्यारेलसम्म पुगेको कच्चा तेलको मूल्य सोमबार ट्रम्पको घोषणापछि घटेर न्यूनतम बिन्दुमा ९५ डलर प्रतिब्यारेलमा कारोबार भएको थियो ।
यद्यपि इरानले भने अमेरिकासँग कुनै पनि किसिमको वार्ता नभएको जनाएको छ । इरानका सभामुख मोहम्मद बघेरले तेलको मूल्य प्रभावित पार्न अमेरिकाले भ्रामक खबर फैलाएको आरोप लगाउनुभएको छ ।
यता ट्रम्पले आगामी ५ दिनसम्म इरानका ऊर्जा पूर्वाधारमा कुनै आक्रमण नगर्ने पनि बताउनुभएको छ । यसअघि उहाँले ४८ घण्टाभित्र होर्मुज समुद्री मार्ग पूर्णसञ्चालनमा नल्याए इरानका ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो ।
संवाद र निकासका सम्भावनाका बीच पनि पश्चिम एसियामा युद्धको बादल भने अझै मडारिइरहेको छ । लेबनन, इरानलगायतका देशमा हमला जारी नै छ । साउदी अरेबियाले पनि आफ्नो पूर्वी प्रान्तमा चारवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ ।