
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएसँगै एसिया-प्रशान्त क्षेत्रमा शेयर बजारमा गिरावट देखिएको छ भने कच्चा तेलको मूल्य बढेको छ ।
शनिबार ट्रम्पले ४८ घन्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालन नगरे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण हुने चेतावनी दिनुभएको थियो । आइतबार जापानमा शेयर बजारमा ४ प्रतिशत र कोरियामा ४ दशमलब ५ प्रतिशतले गिरावट देखियो । अस्ट्रेलियामा शेयर बजार १ दशमलव ६ र न्युजिल्यान्डमा १ दशमलव ३ प्रतिशतले घट्यो ।
यस्तै कच्चा तेलको मूल्य सोमबारसम्म आइपुग्दा प्रतिब्यारेल १ सय ७ डलरमा कारोबार भइरहेको छ । विश्लेषकहरूले हर्मुजमा अवरोध कायमै रहे कच्चा तेलको मूल्य बढेर २ सय डलर प्रति ब्यारेलसम्म पुग्नसक्ने चेतावनी दिएका छन् । हर्मुजबाट विश्वको कुल खपतको झन्डै २० प्रतिशत तेल बाहिरिने गर्छ ।
इरान र अमेरिका-इजरायलबीचको युद्ध चर्कंदै जाँदा दुबैतर्फ ठूलो क्षति भइसकेको छ । इरानमा मृत्यु हुनेको संख्या १५ सय नाघेको इरानी रेडक्रिसेन्टले क्रेस्सेन्टले जनाएको छ । युद्धमा इरानका सर्वोच्च नेता आयतुल्लाह खामेनेईसहित ७० जना वरिष्ठ नेताहरू मारिएका छन् ।
इरानी आक्रमणले इजरायल र पश्चिम एसियाका देशमा पनि ठूलो क्षति भइसकेको छ । इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या १ हजारभन्दा धेरै पुगिसेको छ । यसैबीच इरानले पनि अमेरिकाले आफ्ना ऊर्जा केन्द्रमा आक्रमण गरे हर्मुज पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ ।
त्यस्तै, पश्चिम एसियामा रहेका ऊर्जा तथा खानेपानी पूर्वाधारमा पनि प्रत्याक्रमण गरिने इरानले जनाएको छ । अहिले इरानले सीमित जहाजहरूलाई मात्रै हर्मुजबाट बाहिर निस्कन दिएको छ ।