इरानको भीषण हमलापछि इजरायलमा सबै विद्यालय बन्द

अनलाइनबाट कक्षा सञ्चालन गरिने
सबै मोर्चामा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्री नेतन्याहूको भनाइ
चैत्र ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरानको भीषण हमलापछि इजरायलमा सबै विद्यालय बन्द

काठमाडौं । इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरेर ठूलो क्षति पुर्‍याएपछि त्यहाँ सबै विद्यालय बन्द भएका छन्।

इजरायलको शिक्षा मन्त्रालयले डिमोना र अरदमा भएको इरानी हमलापछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएको छ । इजरायल सरकारले आइतबार र सोमबार सबै कक्षाहरु रद्द गरिने जानकारी दिँदै कुनै पनि भौतिक कक्षाका लागि अनुमति नदिएको प्रष्ट पारेको छ । 

यस अवधिमा विशेष शिक्षाका लागि दिइएका सबै छुटहरू पनि रद्द भएका छन् । देशभर अनलाइन कक्षा सञ्चालन गरिने पनि इजरायल सरकारले जनाएको छ । मंगलबारपछि अवस्थाको मूल्याङ्कन गरेर मात्र नयाँ निर्णय लिइने जनाइएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले इरानको आक्रमणबाट १ सय ८० जना घाइते भएको जनाएको छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सबै मोर्चामा युद्ध जारी राख्ने बताउनुभएको छ ।