इरान सुरक्षा प्रमुख अलि लारिजानी आक्रमणमा मारिएको इजरायलको दाबी

तेहरान र बेरुतमा कारबाही
पश्चिम एसियामा इरानको पनि मिसाइल प्रतिरोध जारी
चैत्र ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरान सुरक्षा प्रमुख अलि लारिजानी आक्रमणमा मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले आफ्नो कारबाहीमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी र अर्धसैन्य दस्ता बासिजका कमान्डर घोलामरेजा सुलेमानी मारिएको दाबी गरेको छ।

रक्षामन्त्री इजरायल काट्जले सोमबार रातिको आक्रमणका क्रममा यी दुई शीर्ष सुरक्षा अधिकारी मारिएको दाबी गर्नुभएको हो । इरानमा भएका विभिन्न आक्रमणहरूमा बासिज सेनाका प्रमुख घोलामरेजा सुलेमानीसहित एक दर्जनभन्दा बढी अधिकारीहरूलाई लक्षित गरिएको उहाँको भनाइ छ । 

इजरायलले इरानका अन्य नेताहरूलाई पनि निशाना बनाउने क्रम जारी राखिने जनाएको छ । इजरायल र अमेरिकाको आक्रमणका क्रममा सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइ, सुरक्षा सल्लाहकार अलि शाम्खानी, रक्षामन्त्री अमिर नासिरजादेह, रेभुलसनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर र सशस्त्र बलका प्रमुख अब्दोलरहिम मौसबी मारिइसकेका छन् । 

सोमबार राति मारिएका लारिजानीले इजरायल र पश्चिम एसियाली मुलुकमा आक्रमण तथा हालै भएका प्रदर्शन दबाउन मुख्य भूमिका निर्वाह गरेको इजरायली सेनाले जनाएको छ । लारिजानी अन्तिम पटक १३ मार्चमा क्वाड्स डे मार्चमा देखिएका थिए।

यसैबीच अमेरिका र इरानबीचको युद्ध १७ औं दिनमा प्रवेश गर्दा इरानले हर्मुजबाट विश्वको २० प्रतिशतभन्दा धेरै तेल तथा प्राकृतिक ग्याँस बाहिरिन दिएको छैन । मंगलबार इजरायलले तेहरान र लेबनानको बेरूतमा हवाई आक्रमण गरेको छ । जवाफमा इरानले पनि खाडी देशहरूमा आक्रमण गरिरहेको छ । कतार, साउदी अरेबिया, यूएई र कुवेतले इरानी मिसाइल प्रतिरोध गरिएको जनाएका छन् ।