
काठमाडौँ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनको नेसनल काउन्टरटेररिज्म सेन्टरका निर्देशक जो केन्टले राजीनामा दिनुभएको छ । अमेरिकी विशेष बल र सीआईएका अनुभवी केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति असहमति राख्दै राजीनामा दिनुभएको हो ।
सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा उहाँले आफ्नो विवेकअनुसार इरानसँग भइरहेको युद्धलाई समर्थन गर्न नसक्ने बताउँदै यो युद्ध इजरायल तथा अमेरिकी समर्थकहरूको दबाबमा सुरु गरिएको जिकिर गर्नुभएको छ । केन्टले अमेरिकाका लागि इरान तत्काल खतरा नभएको भन्दै राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गर्नुभएको छ । इजरायली अधिकारी र अमेरिकी मिडियाले भ्रामक सूचना फैलाएर इरानविरुद्ध युद्धको माहोल बनाएको आरोपसमेत लगाएका केन्टले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालका केही सैन्य निर्णयहरूको प्रशंसा र पछिल्लो नीतिप्रति भने आलोचना गर्नुभएको छ । यसअघि केन्ट अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसक्नुभएको छ । उहाँकी पत्नी श्यानन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गर्नुभएको थियो ।
सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा श्रीमती केन्ट मारिएकी थिइन् । श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतंकवादविरोधी केन्द्रको निर्देशकमा नियुक्त हुनुभएको थियो ।