जहाजमा लोड गरिएका इरानी तेल बिक्री गर्न अमेरिकाको अनुमति

चैत्र ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
जहाजमा लोड गरिएका इरानी तेल बिक्री गर्न अमेरिकाको अनुमति

काठमाडौं । अमेरिकाले तेलको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप समुद्रमा रहेको इरानको तेल खरिद-बिक्री गर्न ३० दिनको अस्थायी अनुमति दिएको छ ।

अमेरिकाले जहाजहरूमा लोड गरिएका इरानी कच्चा तेल र पेट्रोलियम पदार्थहरूको बिक्री गर्न आगामी १९ अप्रिलसम्मका लागि अनुमति दिएको हो । यससँगै करिब १४ करोड ब्यारेल कच्चा तेल विश्व बजारमा आउने अपेक्षा गरिएको छ । बढ्दो ऊर्जा मूल्य घटाउन र आपूर्तिमा आएको दबाब कम गर्न यो निर्णयले सहयोग पुर्‍याउने दाबी गरिएको छ ।

समुद्रमा रोकिएको इरानी तेल बिक्री गर्न सीमित र छोटो अवधिका अनुमति जारी गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । यो निर्णयबाट विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल थपिने र ऊर्जा आपूर्ति बढाउन र इरानका कारण उत्पन्न अस्थायी दबाब कम गर्न सहयोग गर्ने उहाँको भनाइ छ । इरानकै तेल प्रयोग गरेर मूल्य नियन्त्रण गर्ने रणनीति अपनाउनेसमेत बेसेन्टले बताउनुभएको छ ।