रासायनिक मल नपाउदा झापाका सीटीसी चिया उत्पादक किसान निराश

सरकारकै कारण मौज्दात भएर पनि मल नपाएको गुनासो
चैत्र ८, २०८२ |गणेशमान मुखिया
रासायनिक मल नपाउदा झापाका सीटीसी चिया उत्पादक किसान निराश

झापा । झापाका सीटीसी चिया उत्पादक किसान फागुन अन्तिमबाट पर्न थालेको वर्षातले उत्पादन बढ्ने आशामा खुसी थिए । तर, उत्पादन बढाउन सघाउने रासायनिक मल नपाउदा किसानको आशा अब निराशामा बदलिएको छ । 

सरकारकै कारण मौज्दात भएर पनि मल नपाएकोमा किसान असन्तुष्ट छन् । झापामा चिया बगान, सहकारी र साना चिया किसानमार्फत ११ हजार हेक्टरमा चिया खेती हुने गरेको छ । चैत्र महिनाबाट चिया उत्पादन सुरू हुन्छ । यो फस्ट प्लग अर्थात् सिजनको पहिलो टिपाइ भनिन्छ । 

दोस्रो टिपाइमा रासायनिक मल अति आवश्यक पर्दछ । तर, यो वर्ष किसानले रासायनिक पाउने अवस्था छैन । चिया क्षेत्रले सञ्चित मौज्दातबाट मल पाउने व्यवस्था छ । तर, यो मौज्दातबाट मल उपलब्ध गराउने निर्णय कृषि ? मन्त्रालयले नगर्दा यो अवस्था आएको भन्दै चिया उत्पादकहरू असन्तुष्ट छन् ।

सरकारले मल वितरणमा विभेद गरेको चिया उत्पादक संघको आरोप छ । किनभने नेपाल चिया विकास निगमलाई सञ्चित मौज्दातबाट मल उपलब्ध गराउने भएको छ । तर, चिया उत्पादक संघमा आबद्धले मल पाएका छैनन् । रासायनिक मल उपलब्ध नहुने हो भने चिया उत्पादन आधा घट्ने चिन्ता छ ।

कृषि सामग्री कम्पनीको भण्डारमा रासायनिक मल पर्याप्त छ । मलको मौज्दात भए पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको कोटा निर्धारण गरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सिफारिसमा मात्र मल वितरण गर्न सकिने उल्लेख भएकाले सोझै मल वितरण गर्न नसकिएको हो ।

गत वर्ष चिया तथा विकास बोर्डको सिफारिसमा चिया क्षेत्रले सञ्चित मौज्दातबाट रासायनिक मल पाउन सजिलो थियो । यसपटक मन्त्रालयले निर्णय नगरेकाले माथिल्लो तहमा अनुरोध मात्र गर्न सकेको क्षेत्रीय कार्यालय विर्तामोडले जनाएको छ ।

झापामा साना चिया किसान, सहकारी र उत्पादक संघ गरी ११ हजार हेक्टर जमीन चिया खेती हुने गरेको तथ्याक छ । जसमा २ करोड किलो तयारी चिया उत्पादन हुन्छ । सेकेन्ड प्लगमा रासायनिक मल प्रयोग गर्न नपाउने हो भने चियाको उत्पादन स्वतः घट्ने छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।