महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध किरण विकद्वारा तीन निकायमा निवेदन

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध किरण विकद्वारा तीन निकायमा निवेदन

काठमाडौं । महान्यायाधिवक्ता सबिता भण्डारीविरूद्ध विभिन्न आरोप लगाउँदै किरण विकले एकैदिन तीनवटा निकायमा निवेदन दिनुभएकाे छ। 

उहाँले आइट्टबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयमा छुट्टाछुट्टै निवेदन दर्ता गराउनुभएकाे हाे । अख्तियार दुरूपयोगको आरोपमा दिइएको निवेदनको दर्ता नम्बर सी-०५०७०१ रहेको छ। त्यस्तै, मानवअधिकार उल्लंघनसम्बन्धी निवेदन राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता नम्बर २२६९/२०८२-१२-०८ मा दर्ता भएको छ भने गृह मन्त्रालयमा दिएको निवेदनको दर्ता नम्बर ६०५०/२०८२-१२-०८ रहेको छ।

विकले “होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक” सँग सम्बन्धित गतिविधिहरूमा अनैतिक तथा अवैध रूपमा डिम्ब (भनन) व्यापार भएको र त्यसमा नाबालिकासमेत संलग्न भएको विषय सार्वजनिक भएको उल्लेख गर्दै गम्भीर कानुनी तथा नैतिक प्रश्न उठाउनुभएकाे छ। उक्त क्लिनिकसँग अधिवक्ता सबिता भण्डारीको प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको दाबी पनि उहाँले गर्नुभएकाे छ।

हाल भण्डारी महान्यायाधिवक्ता पदमा कार्यरत रहेकाले सरकारी मुद्दा सञ्चालन, प्रतिरक्षा तथा पुनरावेदन जस्ता जिम्मेवारीसँग सम्बन्धित निर्णयहरूमा स्वार्थको द्वन्द्व, पदको दुरूपयोग तथा न्यायिक प्रक्रियामा प्रभाव परेको हुन सक्ने आशंका विकले व्यक्त गर्नुभएकाे छ।

मानव अधिकार आयोगमा दिइएको निवेदनमा उहाँले मानवअधिकार उल्लंघन, न्यायिक निष्पक्षता र सुशासनमा असर परेको भन्दै निष्पक्ष छानबिनको माग गर्नुभएकाे छ। त्यस्तै, गृह मन्त्रालयमा दिइएको निवेदनमार्फत सम्भावित अनुसन्धानलाई प्रभावकारी बनाउन निगरानी बढाउन तथा आवश्यक परेमा भण्डारीको पासपोर्ट रोक्का वा यात्रा प्रतिबन्ध लगाउनसमेत माग गरिएको छ।

यसअघि पनि विकले भण्डारीविरूद्ध विभिन्न स्थानमा एकल विरोध तथा प्रदर्शन गर्दै आउनुभएकाे थियाे। उहाँका अनुसार “डिम्ब व्यापारजस्तो अमानवीय, अनैतिक र जघन्य अपराधमा संलग्न व्यक्ति खुलेआम हिँड्नु सभ्य समाजका लागि खतरा हो,” साथै यसले राज्य संयन्त्रको कमजोरी उजागर गरेको उहाँको भनाइ छ।

विकले जिल्ला प्रहरी कार्यालय भद्रकालीमा पनि निवेदन दिन प्रयास गर्नुभएकाे थियाे। तर, मुद्दा शाखा प्रमुख राजु अधिकारीले उक्त विषय कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेको जनाइएको छ। अनैतिक तथा अवैध गतिविधिमा वकिल संलग्न रहेको आरोप लगाउँदै बिक नेपाल बार काउन्सिल, ज्वागलमा सबिता भण्डारीको कानुनी अभ्यासको लाइसेन्स खारेजको मागसहित पुग्नुभएकाे थियाे। तर, त्यहाँ लाइसेन्स नम्बर उल्लेख गरेर मात्र निवेदन दिन भनिएपछि, आवश्यक विवरण थपेर पुनः निवेदन दिने तयारीसहित फर्किएको उहाँले बताउनुभयाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.