
काठमाडौं । इरानले विश्वका शक्ति राष्ट्रहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले विश्व शक्तिहरूलाई ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन गरेको आग्रहपछि इरानले यस्तो चेतावनी दिएको हो । इरानले अमेरिका–इजरायल कारबाहीको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्ताहरूलाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ।
राष्ट्रपति ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशलाई ‘इस्कर्ट ट्याङ्कर’ मा जहाज पठाउन आग्रह गर्नुभएको थियो भने अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा आक्रमण जारी राखेको थियो ।
यसैबिच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिनुभएको छ ।