
काठमाडौं । भियतनाममा आइतबार संसदीय निर्वाचन भइरहेको छ ।
सत्ताधारी कम्युनिष्ट पार्टीका निर्णय कार्यान्वयन गर्ने नियन्त्रित संसद्को आइतबार निर्वाचन भइरहेको हो । पाँच सय सिटका लागि भएको निर्वाचनमा ८ सय ६४ उम्मेदवार छन्, जसमा ९३ प्रतिशत कम्युनिष्ट पार्टी र बाँकी स्वतन्त्र छन् । उम्मेदवारहरूलाई पनि पार्टीले अनुमोदन गर्ने प्रावधान छ ।
दशकौंदेखि सत्तामा रहेको कम्युनिष्ट पार्टीले संसद्को ९७ प्रतिशत सिट ओगट्दै आएको छ । मतदाताहरूले राष्ट्रको आधुनिकीकरणले निरन्तरता पाउने अपेक्षा गरेका छन् । नेता तो लामको नेतृत्वमा भइरहेका सुधार नीतिले भियतनाम एसियामा उदीयमान अर्थतन्त्रको रूपमा अगाडि आएको छ ।
गत जनवरीमा भएको पार्टी महाधिवेशनले नेता लामलाई शक्तिशाली पद महासचिवमा पुन: चयन गरेको छ ।