दुबई विमानस्थलमा ड्रोन आक्रमण भएपछि सेवा स्थगित

चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुबई विमानस्थलमा ड्रोन आक्रमण भएपछि सेवा स्थगित

काठमाडौं । यूएईको दुबई विमानस्थलमा ड्रोन आक्रमण भएपछि सेवा स्थगित भएको छ ।

सोमबार बिहान विमानस्थल नजिकैको इन्धन भण्डारण ट्यांकमा ड्रोन प्रहारपछि आगो लागेको थियो । आगलागी नियन्त्रणमा आइसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । दुबई विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हब भएकाले यहाँको सानो अवरोधले पनि विश्वव्यापी उड्डयन सञ्जालमा ठूलो असर पर्ने गरेको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो सातामा प्रवेश गर्दा खाडीसहित धेरै देशमा हवाई सेवा प्रभावित भएको छ । अमेरिकी आक्रमणको जवाफमा इरानले खाडी राष्ट्रमा रहेका पूर्वाधारमा प्रत्याक्रमण गरिरहेको छ । फेब्रुअरी २८ मा युद्ध सुरू भएयता दुबई विमानस्थलमा तेस्रोपटक ड्रोन आक्रमण भइसकेको छ । 

युद्धकै कारण केही समय सबै उडान स्थगित गरेको दुबईले तीन दिनअघि मात्रै आंशिक रूपमा सेवा सुरू गरेको थियो । तर, यस आक्रमणपछि फेरि सेवा स्थगित भएको छ । नयाँ सुचना जारी नहुँदासम्मका लागि सबै उडान स्थगित गरिएको यूएईको सरकारी विमान कम्पनी इमिरेट्स एयरलाइन्सले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.