इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको रूसी कूटनीतिज्ञको भनाइ

अमेरिका–इजरायलको इरानमाथिको आक्रमण असफल भएको दाबी
चैत्र १, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको रूसी कूटनीतिज्ञको भनाइ

काठमाडौं । इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रूसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताउनुभएको छ ।

नेबेन्जियाले सञ्चारकर्मीसँग कुरा गर्दै इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार रहेको बताउनुभयो । उहाँ रूसी राष्ट्रपति पुटिनको विश्वासपात्र मानिनु हुन्छ । उहाँले इरानविरूद्ध अमेरिका–इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको दाबी पनि गर्नुभयो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा पारित हुन असफल भएको मध्यपूर्वमा जारी सैन्य द्वन्द्वलाई सम्बोधन गर्ने रूस प्रायोजित प्रस्तावको बारे कुरा गर्दै उहाँले अहिले मध्यपूर्वको स्थिति वास्तवमै भयावह रहेको र सबै मिलेर कूटनीतिक समाधान गर्नु पर्ने बताउनुभयो । 

सैन्य कारबाही तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्ने मस्यौदा प्रस्तावलाई पक्षमा चार, विपक्षमा दुई र नौ अनुपस्थित मतले अस्वीकृत भएको थियो । रूस, चीन, पाकिस्तान र सोमालियाले पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए ।