धादिङ । नेपालको संविधान २०७२ को धारा १८ ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने व्यवस्था गरेको छ भने संविधानको धारा २४ ले जातीय आधारमा हुने छुवाछुत तथा विभेदलाई पूर्ण रूपमा निषेध गरेको छ।
तर, अझै पनि देशका विभिन्न स्थानमा जातीय विभेद र छुवाछुतका घटना भइरहेका छन् । कतिपयले त अन्तरजातीय विवाह गरेकै कारण सास्ती पनि बेहोरिरहेका छन्। धादिङको ज्वालामुखीमा एक जोडीले धेरैलाई प्रेरणा मिल्ने गरी धुमधामसँग अन्तरजातीय मागी विवाह गरेको छ।
धादिङको ज्वालामुखी ७ चैनपुरकी मञ्जु रम्तेल र सोहि पालिका-६ का संगम राना मगरले पारिवारिक सहमतिमा भव्य रूपमा अन्तरजातीय मागी विवाह गरेका हुन्। मन पाराएका केटा केटीले विवाह गर्दा घर नै छाड्नुपर्ने अवस्था रहिरहँदा मञ्जु र संगमले भने परिवारको सहमतिमा नै बाजागाजासहित विवाह गरेका हुन्।
मन्जु जापानमा बस्दै आउनुभएको थियो। मञ्जु जापान जानुअघि नै संगमसाग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो। एकअर्कालाई राम्रोसँग बुझिसकेपछि परिवारलाई आफ्ना कुरा खुला रूपमा राखेका कारण विवाह सम्भव भएको बेहुलाबेहुलीको अनुभव छ।
पहिले छोराले अन्रजातीय विवाहको कुरा गर्दा केही असहज लागे पनि समाजले के भन्छ भन्नेभन्दा पनि आफ्ना सन्तानको खुसी महत्वपूर्ण हुन्छ भन्ने लागेपछि भगाएर हैन धुमधामसाग विहे गर्ने सोच संगमका बुबाले बनाएका थिए यता मञ्जु बुबालाई सुरुमा अन्तरजातीय विवाहमा अन्यत्र भएका केही नकारात्मक घटनाहरू सम्झेर केही चिन्ता लागेको थियो तर बेहुला पक्षको व्यवहार र बेहुला पक्षले आफ्नो संस्कृति अनुसार औपचारिक रूपमा छोरी माग्न आएपछि पारिवारिक सहमतिमा विवाह गर्न तयार भए।
दुवैको एकै स्वर थियो सन्तानको खुसी नै आफ्नो सन्तुष्टि। यो अन्तरजातीय विवाहलाई सामाजिक परिवर्तनतर्फको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। पारिवारिक सहमतिमा धुमधाम साग भएको यो विवाहलाई स्थानीय ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिले विवाह मण्डपमा नै गएर सम्मान गरेको छ।
दुवै परिवारको सहमतिमा परम्परागत रीतिरिवाज अनुसार सम्पन्न भएको यो विवाहलाई जातीय विभेद अन्त्यतर्फको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले समाजलाई समानता, सहिष्णुता र सामाजिक सद्भावतर्फ अघि बढाउन प्रेरणा दिने विश्वास गर्न सकिन्छ।