
काठमाडौं । रूसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको छ ।
अमेरिकाले इरानविरूद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रूसी इन्धन किन्ने अनुमति दिने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला ‘विश्वको ऊर्जा बजारमा स्थिरता’ कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो।
अमेरिकाले समुद्रमा रहेका रूसी पानी जहाजमा भरिएको तेल मात्र किन्न पाउने गरी रूसी तेल किन्न नपाउने प्रतिबन्ध अप्रिल ११ सम्मका लागि फुकुवा गरेको हो । रूसले अहिले झन्डै १० करोड ब्यारल तेल ट्रान्जिटमा भएको बताएको छ। खाडीमा कम्तिमा थप तीनवटा तेलवाहक पानीजहाज आक्रमणमा परेपछि विश्व बजारमा तेलको मूल्य फेरि प्रतिब्यारल एक सय डलर नाघेको छ।
तेल ढुवानी गर्न प्रयोग हुने जलमार्गमा इरानले अवरोध सिर्जना गर्दै र मालवाहक पानीजहाजहरूमा आक्रमण गर्दै आएको छ। खाडीमा तेल उत्पादन गर्ने स्थलहरू पनि आक्रमणको निसानामा परेका छन्। इरानका नवनियुक्त सर्वोच्च नेता मुज्तबा खामेनीले तेल ढुवानी गर्न प्रयोग गरिने एउटा मुख्य मार्ग ‘स्ट्रेट अप हर्मुज’मा अवरोध गरिराख्ने उद्घोष गरेको एक दिनपछि अमेरिकाले रूसी इन्धनमा लगाएको प्रतिबन्ध अस्थायीरूपमा फुकुवा गरेको हो।
युद्धका कारण तेलवाहक पानीजहाजहरू खाडीमा अलपत्र परेका छन् । तिनले इरान र ओमानका बीच रहेको साँघुरो जलमार्ग छिचोल्न नसकेपछि तेल आपूर्ति प्रभावित भएको छ।