
काठमाडौं । आसिफ शेखले प्रधानमन्त्री कप क्रिकेटमा कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्।
उनको दोहोरो शतकसँगै प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम एपीएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेको छ। वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आसिफले एक सय ४२ बलको सहयोगमा प्रधानमन्त्री कपको इतिहासमा नै पहिलो पटक दोहोरो शतक प्रहार गरे।
प्रधानमन्त्री कपमा दोहोरो शतक बनेको यो नै पहिलो पटक हो । यसअघि आर्मीका विनोद भण्डारीले एक सय ८९ रन बनाएका थिए । आसिफले विनोदको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन्। उनले ९० बलमा शतक पुरा गरेका थिए भने त्यसपछि ४७ बलमा अर्को सय रन पुरा गरेका हुन् ।
समग्रमा उनले एक सय ३७ बलमा दोहोरो शतक पूरा गरे। उनले १५ वटा चौका मात्रै प्रहार गरेर ६० रन जोडे भने १६ छक्का प्रहार गरे। छक्काबाट उनले एक सय २ रन जोडेका थिए। राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य आसिफले जारी प्रतियोगितामा चार सय ५७ रन पुरा गरिसकेका छन् ।
आसिफले एक सय ४२ बल खेलेर दुई सय ८ रन बनाउँदै रिटायर्ड हर्ट भएका थिए ।