
काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपमा अपराजित यात्रा आठौं खेलमा पुर्याएको छ।
आर्मीले श्रीरामजानकी बहुउद्देश्य रंगशालामा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई एक सय ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेट क्षतिमा तीन सय ६२ रन बनाएको थियो ।
तृतराज दास ३३ रनमा आउट भए। विनोद भण्डारी र भीम सार्कीले एक सय ४८ रनको ठूलो साझेदारी गरेका थिए। ६५ बलमा नै ८० रन पूरा गरेका भीमलाई विपिन महतोले क्याचआउट गराए । विनोद दोहोरो शतक बनाउनबाट ११ रनले चुके ।
उनले एक सय ५० बलमा एक सय ८९ रन बनाएका थिए । उनलाई आशिष मगरले बोल्ड गरेका थिए । विनोदले २१ चौका र पाँच छक्का प्रहार गरे। आर्मीका जितेन्द्र ठाकुरले पनि ३१ रन जोगे । अन्ततः विपिनले तीन विकेट लिएका थिए । जवाफमा कोशी प्रदेश ३६ ओभरमा एक सय ७७ रनमै अलआउट भयो ।
ओपनर सुजन थपलियाले ३० रन, शिवस बजगाईंले ३७ रन र प्रभात राईले ३८ रनको योगदान गरे। आर्मीका आकाश चन्दले तीन तथा बसिर अहमदले दुई विकेट आफ्नो नाममा गरेका थिए। यो हारसँगै कोशी प्रदेश जितविहीन भएर बाहिरिएको छ। ८ खेलबाट १५ अंक बनाएको आर्मीको अझै एक खेल बाँकी छ।
आर्मीले फाइनलमा सुदूरपश्चिमको सामना गर्ने पक्का भएको छ। पीएम कपमा लिग चरणका अन्तिम खेल मंगलबार हुनेछन् ।