
काठमाडौं । वर्ष २०८३ मा नेपाली खेल क्षेत्र निकै व्यस्त रहने छ ।
एसियाली खेलकुद, साफको महिला र पुरुष च्याम्पियनसिप, क्रिकेटमा लिग टू लगायत अन्य सिरिज मासर्लआर्ट र ट्र्याक एन्ड फिल्ड तथा भलिबलका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी २०८३ भर व्यस्त हुनेछन् ।
वर्ष २०८३ को सुरूमै नेपालले यूएईसँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो खेल वैशाख ७ र दोस्रो खेल ८ गते खेलिनेछ । कीर्तिपुरस्थित टीयू मैदानमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल हुने छ । लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिज वैशाख १२ गतेदेखि २२ गतेसम्म आयोजना हुनेछ ।
यो सिरिज सकिएको एक सातापछि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को त्रिकोणात्मक सिरिज सुरु हुनेछ । यो सिरिज वैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै लिग टु सिरिजकै सेरोफेरोमा नेपालको 'ए' टिमले ओमान, स्कटल्यान्ड र अमेरिकासाग समान २-२ खेलको ५० ओभरको सिरिज खेल्ने तय छ ।
यसबाहेक लिग टुकै अन्य सिरिज यस वर्ष खेलिने छन् । महिला क्रिकेट टिमले वैसाख १३ देखि रवान्डामा सुरु हुने आईसीसी च्यालेन्ज ट्रफीमार्फत वर्षको सुरुवात गर्ने छ । यसबाहेक क्यानले जारी गरेको वार्षिक क्यालेन्डरमा उमेर समूहका विभिन्न प्रतियोगिता सामेल छन्, भने महिला टिमले पनि विभिन्न द्विपक्षीय र त्रिपक्षीय सिरिज खेल्ने तालिका छ ।
फुटबलको साफ महिला र साफ पुरुष च्याम्पियनसिप पनि यसै वर्ष आयोजना हुनेछन् । साफ महिला च्याम्पियनसिप जेठ ११ गते देखि २४ गतेसम्म भारतमा आयोजना हुने छ । त्यस्तै पुरुष साफ च्याम्पियनसिप असोज ५ गते देखि २० गतेसम्म बंगलादेशमा सुरु हुनेछ ।
यस्तै एफसी र साफका विभिन्न उमेर समूहका छनोट प्रतियोगिता पनि यस वर्ष आयोजना हुने छन् । एसियाली खेलकुद यस वर्षको सबैभन्दा बहुप्रतिक्षित प्रतियोगिता हो । यो प्रतियोगिता असोज ३ देखि १८ गतेसम्म आयोजना हुनेछ । जसमा नेपालले धेरै खेलमा सहभागिता जनाउने सम्भावना छ ।
जापानको आइची र नागोयामा हुने २०औं गृष्मकालीन एसियाली खेलकुदमा नेपालबाट ३२ खेलका २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ जना खेलाडीले नाम दर्ता गराएका छन् । यस्तै, काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि १६ गतेसम्म नेपालमै आयोजना हुने छ ।
यसबाहेक महिला पुरुष र उमेर समूहका विभिन्न प्रतियोगिता यस वर्ष हुनेछन् । तर, अधिकांश प्रतियोगिताको मिति तय नभएको भलिबल प्रशिक्षक कुमार राइले जनाएका छन् । यसबाहेक करातेमा सानदार प्रदर्शन गरिरहेकी एरिकाले २०८३ मा पनि विभिन्न कराते वान प्रिमियर लिग खेल्नेछिन् ।
यस्तै कबड्डी, मार्सलआर्ट, ट्रयाक एन्ड फिल्ड, इ-स्पोर्टस लगायतका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी हुनेछ ।