
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लिएर दुईपक्षबीच कुराकानी भए पनि मिति भने टुंगो नलागिसकेको बताउनुभएको छ।
मौरीससमा भएको हिन्द महासागर सम्मेलनमा सहभागी भएर साेमबार स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणलाई लिएर दिएको निम्तोका विषय दुईदेशबीच कुरा भए पनि कुन मितिमा भन्ने विषय टुङग्याउन बाँकीरहेको बताउनुभयो ।
दुई देशका मन्त्रालयबीच भ्रमणका एजेन्डालाई लिएर टुंगो लागेपछि भ्रमणको टुंगो लाग्ने मन्त्री खनालको भनाइ छ । मोरिसस सम्मेलनमा आफुले क्षेत्रीय सहकार्य, समावेशी तथा नियममा आधारित समुन्द्री सुशासन लगायत जलवायुमा देखिएका चुनौतिहरुको साझा समाधान लगायतका विषय उठाएको बताउनुभयो ।
त्यसैगरी परराष्ट्रमन्त्री खनालले सम्मेलनमा भूपरिवेष्ठित मुलुकका लागि समुन्द्रमा पहुँचलगायत क्षेत्रीय सहकार्यका विषयलाई प्राथमिकतामा राख्नुपर्ने विषय उठाएको मन्त्री खनालको भनाइ छ । मन्त्री खनाल यहि चैत्र २७ गते मौरीसस जानुभएको थियो ।