
काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आगामी आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ।
प्रतियोगिता आगामी अप्रिल १८ देखि मे एकसम्म रूवान्डामा सञ्चालन हुने तय छ। घोषित टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतो यथावत् छिन। टोलीमा बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रूबिना क्षेत्री र रचना चौधरी समावेश छन्।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउने र आगामी ठूला प्रतियोगिताका लागि अनुभव बटुल्ने लक्ष्यसहित टोली रूवान्डा जाने तयारीमा छ। आईसीसीले महिला क्रिकेटको विकासका लागि ल्याएको थ्री–टियर डेभलप्मेन्ट पाथवेअन्तर्गत यो दोस्रो तहको प्रतियोगिता सन् २०३० को १६ टोली सहभागी हुने विश्वकपसम्म पुग्ने एउटा महत्त्वपूर्ण खुड्किलो पनि हो ।
रूवान्डाको किगालीस्थित गहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने यस प्रतियोगितामा नेपालसँगै अमेरिका, इटाली, भानुआटु र आयोजक रुवान्डाले प्रतिस्पर्धा गर्नेछन् ।