नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा मोदीको बधाइ

सहकार्य अझ सघन हुने संकेत
फाल्गुन २३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा मोदीको बधाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन समापन भएको भन्दै सरकार र नेपाली जनतालाई बधाइ दिनुभएको छ ।

नेपालमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लाग्दा भारतले दिएको अभिव्यक्ति कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री मोदीले आफ्ना नेपाली 'दिदीबहिनी र दाजुभाइहरू'ले लोकतान्त्रिक अधिकारको जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गर्नुभएको छ ।

नेपालमा राजनीतिक स्थिरताको खोजी भइरहेका बेला प्रधानमन्त्री मोदीको यो बधाइ सन्देशले दुई देशबीचको 'साझा शान्ति र समृद्धि'को जनचाहनालाई पुनः स्मरण गराएको छ। भारतले काठमाडौंको नयाँ सत्ता समीकरणलाई नजिकबाट नियालिरहेको सन्दर्भमा प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको नजिकको साथी र छिमेकीका रूपमा रहने विश्वास बताउनुभएको छ ।

पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच कनेक्टिभिटी, ऊर्जा व्यापार र विकास साझेदारीमा नयाँ आयामहरू थपिएका छन् । मोदीको यो पछिल्लो प्रतिबद्धताले नयाँ बन्ने सरकारसँगको सहकार्य अझ सघन हुने संकेत गरेको छ ।