
काठमाडौं । कच्चा तेलको मूल्य प्रति ब्यारेल एक सय डलर नाघेपछि जी-सेभेन राष्ट्रहरूले आकस्मिक बैठक डाकेका छन् ।
औद्योगिक राष्ट्रहरूका अर्थमन्त्री र यूकेका चान्सलर रचेल रिभ्ससहितको बैठकले युद्धका कारण अर्थतन्त्रमा परेका प्रभावबारे छलफल गर्ने बताइएको छ । क्यानडा, फ्रान्स, जर्मन, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलित अग्रणी औद्योगिक राष्ट्रहरूको समूह नै जी-सेभेन हो ।
अमेरिका-इजरायलले इरानविरुद्ध संयुक्त रुपमा आक्रमण गरेपछि तेलको मूल्य र सेयर बजारसमेत वृद्धि भएको छ । 'स्ट्रेट अफ हर्मुज' हुँदै आपूर्ति हुने तेल युद्धका कारण अवरुद्ध भएकाले विश्व बजारमा तेलको मूल्य सोमबार प्रतिब्यारेल १ सय २० डलर नजिक पुगेको छ । यूकेको सेयर बजार सूचकांक-एफटीएसई सुरुवातमै १ दशमलब ५ प्रतिशतले घटेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहजीकरणमा पेट्रोलियम पदार्थको भण्डारणबारे पनि जी-सेभेन बैठकमा छलफल हुने जनाइएको छ । 'स्ट्रेट अफ हर्मुज' बाट हुने तेल आपूर्ति अवरुद्ध हुँदा विश्ववभर उपभोक्ता र व्यवसायी मारमा परेका छन् । विश्वको पाँच भागमध्ये एक भाग तेल 'स्ट्रेट अफ हर्मुज' जलमार्गबाटै आपूर्ति हुँदै आएको छ । तर एक साताअघि सुरु भएको युद्धका कारण यो साँघुरो जलमार्गमा जहाज आवातजावत ठप्पजस्तै भएको छ ।
अमेरिका र इजरायलले इरानका तेल भण्डारण स्थलहरुमा समेत हवाई आक्रमण गरेका छन् ।