
काठमाडौं । इरानको सर्वोच्च नेतामा सय्यद मोज्तबा होसेनी खामेनी नियुक्त हुनुभएको छ ।
अमेरिका र इजरायलको संयुक्त हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि नयाँ सर्वोच्च नेतामा उहाँका छोरा सय्यद मोज्तबालाई नियुक्त गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
८८ जना धर्मुगुरू रहेको विज्ञहरूको सभामा भएको मतदानबाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको हो। विज्ञहरूको सभाले विज्ञप्ति जारी गरी नयाँ सर्वोच्च नेता नियुक्त गरिएको जनाएको छ। अमेरिकासहित इजरायलसँग जारी युद्धकै बीच गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिहरूको पकड अझै मजबुत रहेको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
सर्वोच्च नेताको पद इरानको सबैभन्दा शक्तिशाली पद मानिन्छ। यस पदमा रहने व्यक्तिसँग राज्यका सबै प्रमुख निर्णयमा अन्तिम अधिकार हुन्छ। मोज्तबा खामेनी लामो समयदेखि इरानको सुरक्षा संयन्त्र तथा आर्थिक सञ्जालभित्र प्रभावशाली व्यक्तिका रूपमा चिनिँदै आउनुभएको छ ।
आफ्ना पिता अली खामेनीको नेतृत्वमा रहेको शक्तिशाली संरचनाभित्र उहाँ प्रभावशाली भएकाले उत्तराधिकारीका रूपमा पहिलेबाटै अग्रपंक्तिमा रहेको विश्लेषण गरिएको थियो। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानमा नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आउनुभएको थियो ।