अमेरिका-इजरायलविरूद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गर्ने आइआरजीसीकाे चेतावनी

फाल्गुन २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिका-इजरायलविरूद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गर्ने आइआरजीसीकाे चेतावनी

काठमाडौं । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स-आइआरजीसीले अमेरिका–इजरायलविरूद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ ।

इरानको मिसाइल कार्यक्रम ध्वस्त भइसकेको र चाडैं युद्ध सकिने अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको दाबीको खण्डन गर्दै आइआरजीसीले आफूसँग शक्तिशाली मिसाइलहरु रहेको दाबी गरेको हो । ट्रम्पले स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकर रोक्ने प्रयत्न भएमा इरानमाथि २० गुणा शक्तिशाली प्रहार गरिने चेतावनी पनि दिनुभएको थियो । तर, इरानले युद्धमा आत्मसमर्पण नगर्ने जनाएको छ । 

यता इरानले बहराइन, कुवेत, यूएई, साउदी अरबसहित पश्चिम एसियाका विभिन्न क्षेत्रमा प्रत्याक्रमण जारी नै राखेको छ । मंगलबार बहराइनको मनामामा एक जनाको मृत्यु भएको छ भने इजरायलको राजधानी आसपास दुई जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति अमेरिकाले गरेको शक्तिशाली आक्रमणमा तेहरानको रिसालात स्क्वायर नजिकै कम्तिमा ४० जनाले ज्यान गुमाएका छन् । उता लेबनानमा पनि इजरायल र हिजबुल्लाहबीचको युद्ध जारी छ । इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या लेबनानमा ४८६ नाघिसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।