
काठमाडौं । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४ दशमलब ५ देखि ५ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ ।
यो सन् १९९१ पछिको सबैभन्दा न्यून आर्थिक वृद्धि लक्ष्य हो । चीनले स्वदेश र विदेश दुवैतिरका चुनौतीहरूसँग जुधिरहेका बेला आफ्नो वार्षिक आर्थिक वृद्धिको लक्ष्य घटाएर ५ प्रतिशतसम्मको दायरामा झारेको हो ।
प्रधानमन्त्री ली खछ्याङले बिहफबार राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा १५औं पञ्चवर्षीय योजनाका केही विवरण पनि सार्वजनिक गर्नुभएको हो । सोही बैठकमा सन् २०२६ का लागि कुल गार्हस्थ उत्पादनको लक्ष्य ४ दशमलब ५ देखि ५ प्रतिशतको लक्ष्य राखिएको हो ।
सन् २०२५ मा यो लक्ष्य ५ प्रतिशत थियो । घटाइएको यो आर्थिक वृद्धिदरले चीनको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्ने समेत अलजजिराले जनाएको छ । कुनै समय चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रको योगदान २५ देखि ३० प्रतिशतसम्म रहन्थ्यो ।
अहिले घरजग्गा क्षेत्रको पतनकै कारण आर्थिक सुस्तता आएको बताइएको छ । यसअघि सन् २०२० मा महामारीका कारण कुनै लक्ष्य निर्धारण गरिएको थिएन। कमजोर उपभोग, घट्दो जनसंख्या, घरजग्गा क्षेत्रमा आएको संकट, विश्वव्यापी व्यापारिक तनाव र इरान युद्धका कारण सिर्जित ऊर्जा संकटजस्ता समस्याहरू सामना गरिरहेको बेइजिङले आफ्नो अर्थतन्त्रलाई नयाँ स्वरूप दिने लक्ष्य राखेको छ।