अमेरिकाले पश्चिम एसियाबाट दूतावास कर्मचारी फिर्ता बोलायो

बेरुत र तेहरानमा इजरायली आक्रमण तीब्र
फाल्गुन १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले पश्चिम एसियाबाट दूतावास कर्मचारी फिर्ता बोलायो

काठमाडौं । इरानले पश्चिम एसियामा आक्रमण बढाएपछि अमेरिकाले ती मुलुकस्थित दूतावासका कर्मचारीलाई तत्काल सुरक्षित बहिर्गमनका लागि निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जोर्डान, बहराइन, इराक, कतार र कुवेतस्थित दूतावासका अत्यावश्यकबाहेकका कर्मचारीलाई तत्काल बाहिरिन निर्देशन दिएको हो । इरानले साउदी अरेबिया र कुवेतस्थित दूतावासमा आक्रमण गरेपछि अमेरिकाले यस्तो निर्देशन दिएको हो । 

दुवै मुलुकका दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । नेपालस्थित अमेरिकी दूतावासले पनि सामाजिक सञ्जालमार्फत विश्वभर रहेका अमेरिकी र पश्चिम एसियामा रहेकाहरूले दूतावासले जारी गर्ने सुरक्षा एलर्ट फलो गर्न आग्रह गरेको छ ।

यसैगरी, अमेरिका र क्यानडाले पनि ती मुलुकबाट आफ्ना नागरिकलाई बाहिरिन आग्रह गरेका छन् । तर, अधिकांश विमानस्थल बन्द भएकाले यस्तो सम्भावना भने तत्काललाई नभएको सीएनएनले जनाएको छ । बहराइन, कतार र साउदी अरेबियाले ठूलो संख्यामा इरानी मिसाइलको सामना गर्नुपरेको जनाएका छन् ।

यता, इजरायलले पनि लेबनानको बेरूत र इरानको तेहरानमा पनि लगातार आक्रमण गरेको छ । तेहरानका सैन्य संरचना र लेबनानमा इरानसमर्थित हेजबोल्लाहका केन्द्रमा आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।