
काठमाडौं । इरानले पश्चिम एसियाली मुलुकहरूमा आक्रमण जारी राखेको छ ।
अमेरिकी सैन्य केन्द्रदेखि उर्जा केन्द्रसम्मलाई लक्ष्य गर्दै इरानले आक्रमण गरेको हो । पछिल्लो पटक इरानले साउदी अरेबियाको आरामको कम्पनीको रास तानुरा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ । आक्रमणपछि क्षतिको विवरण सार्वजनिक भइनसके पनि त्यहाँ कार्यरत कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसअघि साउदी अरेबियाले आरामको कम्पनीमा आक्रमण गरे इरानी तेल प्रशोधन केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको थियो। कतारको कतार इनर्जीले पनि प्राकृतिक तरल ग्यासको उत्पादन बन्द गरेको छ । यस्तै बहराइन र दुबईमा विस्फोटका आवाज सुनिएका र कुवेतस्थित अमेरिकी दूतावासनजिक धुँवाको मुस्लो देखिएको बीबीसीले जनाएको छ ।
कुवेतमा अमेरिकी फाइटर जेट दुर्घटनामा परेको भने हालसम्म ४ सैनिकको मृत्यु भएको अमेरिकाले जनाएको छ । यसैगरी, जोर्डानको तटीय सहरमा साइरनका आवाज सुनिएका छन् । साइप्रसस्थित बेलायती सैन्य क्याम्पमा पनि ड्रोन आक्रमण गरिएको छ ।
यो घटनापछि बेलायतले पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई उद्दार गर्ने तयारी गरेको छ । यस क्षेत्रमा ३ लाख बेलायती रहेको अनुमान गरिएको छ । यसैगरी अमेरिकी सेनाको शिविर रहेको इराकको इर्बिल विमानस्थलको आकाशमा ३ वटा ड्रोन नष्ट गरिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानले इजरायल लक्षित आक्रमण पनि गरेको छ । इजरायलको बेत सेमेश सहरमा भएको आक्रमणमा ९ जनाको मृत्यु भएको छ । इरानी सुरक्षा प्रमुख अलि लारिजानीले अमेरिकासँग वार्ता नगर्ने पनि बताउनुभएको छ । यता लेबनानको इरानसमर्थित हेजबोल्लाहले मिसाइल आक्रमण गरेपछि इजरायलले पनि जवाफी आक्रमण गरेको छ ।
आक्रमणमा दक्षिणी लेबनानमा ३१ जनाको मृत्यु हुनाको साथै १ सय ४९ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले हेजबोल्लाहका गुप्तचर प्रमुख पनि मारिएको दाबी गरेको छ । इजरायलले दक्षिणी लेबनानका ५० वटा गाउँ खाली गर्न पनि निर्देशन दिएको छ ।
यसैबीच इरानमा अमेरिका र इजरायलको आक्रमणबाट ५ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको अल-जजिराले जनाएको छ ।