
काठमाडौं । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको बताउनुभएको छ ।
रूसी सरकारी सञ्चारमाध्यमसँग कुराकानी गर्दै उहाँले आफ्ना कट्टरपन्थी मागहरूमा जोड दिँदै वार्ता प्रक्रियाको समयसीमा नभएको स्पष्ट पार्नुभएको हो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयास अघि सारेपछि दुवै देशका वार्ताकारहरू बिहीबार जेनेभा पुगेका छन् ।
अमेरिकी मध्यस्थतामा युद्धरत मुलुकका प्रतिनिधिबीच धेरै चरणका छलफलहरू भए पनि सम्झौता गर्न असफल भएका छन् । मस्कोले कट्टरपन्थी क्षेत्रीय र राजनीतिक मागहरूमा जोड दिएको छ जसलाई किएभले आत्मसमर्पण हुने भन्दै अस्वीकार गरेको छ । रूसका उच्च अधिकारीहरूले बिहीबार फेरि सम्झौता नजिकिँदै गरेको भन्ने भनाइलाई खण्डन गरेका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा छ भनेर पूर्वानुमान गर्न हतार नभएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमसँग कुनै प्रकारको चरण परिभाषित गर्न वा पूर्वानुमान गर्न अहिले नै प्रयास गर्नु ठूलो गल्ती हुने पनि बताउनुभयो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेता भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बताउँदै आउनुभएको छ । रूसले कब्जामा लिएको पूर्वी युक्रेनको क्षेत्र रूसमा गाँभिनुपर्ने रूसको अडान जारी छ भने युक्रेनले आफ्नो भूमि रूसलाई दिनु उसलाई भविष्यमा थप आक्रमण गर्न हौसला दिनु भएको भन्दै यस विषयमा अस्वीकृति जनाउँदै आएको छ ।