पाकिस्तान र अफगान तालिबानबीच फेरि हिंसात्मक द्वन्द्व सुरू

तालिबानले विश्वभरबाट आतंकवादी ल्याएको पाकिस्तानको आरोप
इस्लामले महिलालाई दिएको अधिकार खोसेको टिप्पणी
फाल्गुन १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तान र अफगान तालिबानबीच फेरि हिंसात्मक द्वन्द्व सुरू

काठमाडौं । पाकिस्तान र अफगान तालिबानबीच फेरि हिंसात्मक द्वन्द्व सुरू भएको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा गर्नुभएको हो । उहाँले अफगान तालिवानमाथि ‘अफगमिस्तानमा विश्वभरबाट आतंकवादी एकत्रित गरेको आरोपसमेत लगाउनुभएको छ । अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गर्नुभएको छ । 

उहाँले आक्रमणबाट कुनै हताहति भने नभएको बताउनुभएको छ । पाकिस्तानले आफूविरूद्ध षड्यन्त्र र आक्रमण अफगान भूमिबाट योजना बनाएको आरोप लगाए पनि तालिबान शासनले भने त्यसको खण्डन गर्दै आएको छ । यता पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिबानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाउनुभएको छ ।

पाकिस्तानी सरकारले आफ्नो सैन्य कारबाहीमा अहिलेसम्म १३३ अफगान तालिबान सदस्यहरू मारिएको र २०० जना घाइते भएको दाबी गरेको छ। गत हप्ता, पाकिस्तानले अफगानिस्तानमा रातभरि धेरै हवाई आक्रमणहरू गर्दा महिला र बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको थियो।

काबुल र कन्धारमा भएको आक्रमण पाकिस्तान र अफगानिस्तानबीच विगत केही समयदेखि चल्दै आएको झडपको श्रृंखलामा सबैभन्दा नयाँ हो । दुवै देश अक्टोबर २०२५ मा युद्धविरामका लागि सहमत भएका थिए । पछिल्लो साता पाकिस्तानले अफगानिस्तानमा रातभर हवाई आक्रमण गरेको थियो ।