राष्ट्रिय लिग : चित्लाङमाथि संकटाकाे सहज जित

फाल्गुन १५, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : चित्लाङमाथि संकटाकाे सहज जित

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चित्लाङ एफसीलाई संकटा एफसीले ४-० ले पराजित गरेको छ । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा तेस्रो जित हात पार्दै संकटा नवौँ स्थानमा उक्लिएको छ । संकटालाई जित दिलाउन ओभरसिज खेलाडी रिचर्ड ओन्यमाले ह्याट्रिक गरे । रिचर्डले पहिलो मिनेटमै गोल गरेर संकटालाई अग्रता दिलाएका थिए । 

यसपछि पहिलो हाफको ४५औँ मिनेटमा टाय ड्यानियलले गोल गरेपछि संकटाले अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफकै इन्जुरी समयमा रिचर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि संकटा ३-० को सहज स्थितिमा थियो । तर, दोस्रो हाफमा चित्लाङ फरक रणनीतिसाथ मैदानमा फर्किएपछि संकटाले अर्को गोल गर्न भने ७५औँ मिनेटसम्म कुर्नुपर्‍यो । 

रिचर्डले ह्याट्रिक गर्दै खेललाई ४-० मा समाप्त गरे । शुक्रबारको जितसँगै संकटा तीन स्थान सुधार गर्दै नवौँ स्थानमा उक्लिएको छ । संकटाको ८ खेलबाट ९ अंक छ । चित्लाङको भने यो तेस्रो हार हो । ८ खेलबाट चित्लाङ ७ अंक जोड्दै १२ औँ स्थानमा छ । एन्फाले यी टोलीको अर्को खेलको मिति सार्वजनिक गरेको छैन ।