
काठमाडौं । केही दिनदेखि चरणबद्ध वार्तामा रहेका अमेरिका र इरानबीच अगामी बिहीबार अर्को चरणको वार्ता हुने भएको छ ।
ओमानका विदेशमन्त्री बद्र अल बुसैदीले बिहीबार अमेरिका र इरानबीच अर्को चरणको वार्ता हुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत बिहीबार जेनेभामा वार्ता तय भएकाले सम्झौतालाई अन्तिम रूप दिनेतर्फ थप प्रयास हुने जानकारी दिनुभयो ।
अमेरिकाले मध्यपूर्वमा सेनाको उपस्थिति बढाइरहेका बेला यो घोषणा आएको हो । ओमानको घोषणा हुनुभन्दा केही घन्टाअघि, इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरान आफ्नो आणविक कार्यक्रमलाई शान्ति प्रयोजनमा सीमित गर्ने सुनिश्चित गर्न तयार रहेको बताउनुभएको थियो ।
उहाँले तनाव कम गर्न पूर्ण अनुगमन संयन्त्र स्थापना गर्न सकिने बताउनुभएको थियो । त्यसबापत इरानलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच दिइनुपर्ने माग अघि सारिएको उहाँले बताउनुभयो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले १० दिनभित्र इरानसँगको वार्ता नटुंगिए सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ ।