प्रथम क्यूकेएस अन्तर-विद्यालय क्रिकेट प्रतियोगिता : एलआरआई स्कुल बन्यो च्याम्पियन

फाल्गुन १५, २०८२ |खेल ब्युरो
प्रथम क्यूकेएस अन्तर-विद्यालय क्रिकेट प्रतियोगिता : एलआरआई स्कुल बन्यो च्याम्पियन

काठमाडौं । राजधानीमा सञ्चालित प्रथम क्यूकेएस अन्तर-विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई स्कुलले हात पारेको छ। 

गत फागुन ११ गतेदेखि सुरू भएको यस प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा बृहस्पति विद्या सदनलाई पराजित गर्दै एलआरआई च्याम्पियन बनेको हो। कुल १२ टोली सहभागी रहेको यस प्रतियोगितालाई चार समूहमा विभाजन गरिएको थियो। पाँच दिनसम्म चलेको कडा प्रतिस्पर्धापछि शुक्रबार प्रतियोगिताको भव्य समापन भएको छ।

पहिलो सेमिफाइनल बृहस्पति विद्या सदनले संस्कृति इन्टरनेसनल स्कुललाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। बृहस्पतिका प्रज्वल ए.ले ३५ रनको योगदान दिएका थिए । दोस्रो सेमिफाइनल त्रियोग हाई स्कुल र एलआरआई स्कुलबीचको खेल निकै रोमाञ्चक रह्यो। 

दुवै टोलीले ९० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो, जहाँ एलआरआईले जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। फाइनल भिडन्तमा पहिले ब्याटिङ गरेको बृहस्पति विद्या सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। बृहस्पतिका लागि प्रज्वल ए.ले १६ रन जोडे भने एलआरआईका बलर स्योन एस। र, प्रशान्त ए. ले २-२ विकेट लिए।

७१ रनको लक्ष्य पछ्याएको एलआरआई स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। एलआरआईका सुबोध सी.ले २४ रन र अंश डी. ले १८ रनको महत्वपूर्ण पारी खेले। ४ विकेटको जित निकाल्दै एलआरआईले प्रतियोगिताको ट्रफी उचाल्न सफल भयो।