अमेरिकामा नयाँ कर लागू

करको दरलाई १५ प्रतिशतसम्म पुर्‍याउने ट्रम्पको योजना
फाल्गुन १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकामा नयाँ कर लागू

काठमाडौं । सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ कर लगाउनुभएको छ । 

नयाँ कर नीति मंगलबारदेखि लागू भएको छ । सुरूमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले उक्त दरलाई १५ प्रतिशतसम्म पुर्‍याउने योजना सार्वजनिक गर्नुभएको छ । 

यद्यपि क्षेत्र-विशेष अनुसन्धानअन्तर्गत रहेका उत्पादन तथा अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौताअन्तर्गत पर्ने सामानहरूमा छुट दिइने अपेक्षा गरिएको छ । नयाँ कर संसद्ले समयावधि नबढाएसम्म १ सय ५० दिनसम्म मात्र कायम रहनेछ र यसलाई दीर्घकालीन व्यापार नीतितर्फको सङ्क्रमणकालीन कदमका रूपमा हेरिएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले सन् १९७७ को कानुन प्रयोग गरी विभिन्न देशमा एकतर्फी कर लगाउने कार्य राष्ट्रपतिको अधिकारभन्दा बाहिर रहेको ठहर गर्दै पुराना विश्वव्यापी कर खारेज गरेको थियो । यद्यपि स्टिल र अटोमोबाइलजस्ता क्षेत्रमा लागू गरिएका क्षेत्र-विशिष्ट कर भने यथावत् छन् । 

अमेरिकी भन्सार तथा सीमा सुरक्षाले अदालतले रद्द गरेका करको सङ्कलन रोकेको जनाएको छ भने मङ्गलबारदेखि नयाँ १० प्रतिशत कर उठाउन सुरू गरेको पुष्टि गरेको छ । नयाँ कर वार्षिक करिब १२ खर्ब डलर बराबरको आयातमा लागू हुनेछ । यो कुल आयातित वस्तुको झन्डै ३४ प्रतिशत हो ।