जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

फाल्गुन १५, २०८२ |खेल ब्युरो
जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । 

टीयू क्रिकेट मैदानमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेसँगै पुलिसले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो । आफ्नो पहिलो खेलमा आर्मीसँग पराजित साविक विजेता पुलिसले त्यसपछि भने लगातार दुई खेलमा जित हात पार्यो । 

बागमती भने प्रतियोगिता भर जितविहीन रह्याे। बिहिबार टीयू क्रिकेट मैदानमा पुलिसले टस जितर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले पहिलो इनिङ्समा ५३ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो । उसका लागि इसान पाण्डेले ४१ र विपिन आर्चायले अविजित ४६ रन बनाउनुबाहेक अन्य ब्याटरले खास प्रदर्शन गर्न सकेनन् । 

पुलिसका लागि करणले ४ तथा ललित राजवंशीले ३ विकेट हात पारे । जवाफमा पुलिसका लागि कुशल भुर्तेलले ९६ रनको आक्रमक इनिङ्स खेले । १६ चौका प्रहार गरेका कुशललाई इशानले आउट गरेपछि उनी पहिलो इनिङ्समा शतक प्रहार गर्नबाट ४ रनले चुके । 

६० रनको अग्रतासहित दोस्रो दिनको सुरूवात गरेको पुलिसले आफ्नो पहिलो इनिङ्समा ३ सय ३४ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा इनिङ्स समाप्तिको घोषणा गर्यो । दोस्रो दिन कप्तान आरिपल सेख ५३ र दिलसाद अलि ५१ रनमा बाहिरिए । बागमतीका कप्तान सन्दीप लामीछाननेले ४ तथा इसानले २ विकेट लिए । 

१ सय ४९ रनले पछि परेको अवस्थाबाट दोस्रो इनिङ्सको सुरूवात गरेको बागमती २ सय ३७ रनमा अल आउट भयो । बागमतीका लागि सानदार लयमा रहेका इशान पाण्डेले ८० रनको योगदान दिए । विवेक मगर ४५ रनमा बाहिरिए । पुलिसका लागि ललितले ५ तथा राशिद खानले ३ विकेट लिए । 

बागमती ८८ रनको अग्रता बनाउँदै अलआउट भएपछि ८९ रनको सामान्य लक्ष्य पुलिसले दोस्रो इनिङ्समा १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । पुलिसका सोहिल कुँवर ३५ र करण केसी २१ रनमा अविजित रहे । बागमतीका लागि सन्दीप र रिजनले १-१ विकेट लिए ।