जापानमा पछिल्लो ६ महिनामा ४२ नेपालीको मृत्यु, अधिकांश आत्महत्या

फाल्गुन १५, २०८२ |सुमन पन्थ
जापानमा पछिल्लो ६ महिनामा ४२ नेपालीको मृत्यु, अधिकांश आत्महत्या

टोकियो । जापानमा पछिल्लो ६ महिनामा ४२ जना नेपालीको मृत्यु भएको छ । 

टोकियोस्थित नेपाली दूतावासकाअनुसार ६० प्रतिशतभन्दा धेरै मृत्यु आत्महत्याका कारण भएको हो । त्यसका अतिरिक्त दुर्घटना तथा यहाँको वातावरणमा घुलमिल हुन नसक्दा मृत्यु हुनेको संख्या बढ्दै गएको दूतावासले दाबी गरेको छ । 

हो, अहिले जापानमा रहेका धेरै नेपाली यस्तै समस्यामा हुनुहुन्छ । नेपालबाट जापान आउनकै लागि १५ देखि २० लाख रूपैयाँ लगानी गर्ने तर यहाँ आएपछि सो अनुसारको आम्दानी नहुँदा धेरै नेपाली विद्यार्थी समस्यामा पर्ने गरेका छन् । सुरूवाती चरणमा परिवारबाट विछोड त छँदै छ त्यसमाथि यहाँ आउँदाको ऋण तिर्नुपर्ने, कलेज तथा ट्युसन-फी जुटाउनु पर्ने, खान बस्नकै समस्याले कतिपय नेपालीले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

कलिला विद्यार्थीलाई एकै पटक कमाउनु पर्ने, आफैं संर्घष गर्नुपर्ने जस्ता सबै बाध्यताले गर्दा आत्महत्या गर्ने बाध्य भएका छन् । विद्यार्थीको मृत्युदर अत्याधिक बढिरहेको छ । पछिल्लो ६ महिनामै ४२ जनाको मृत्यु भयो । नेपाली दूतावासका अनुसार उच्च शिक्षाका लागि जापान आउने नेपाली विद्यार्थीमध्ये अधिकांश रोजगारीकै लागि आउने गरेका छन् । 

जापानमा आउने विदेशी विद्यार्थीलाई २८ घन्टा काम गर्न दिने प्रावधान रहे पनि कतिपय कलेजले सो अनुमतिसमेत नदिएको गुनासो दूतावासमा नियमित आउने गरेको छ । तोकिएको समयभन्दा बढी काम गरेको भनी स्थानीय प्रशासनले नेपालीसमेत पक्राउ गरेको सूचना दिनहुँ दूतावासमा आउने गरेको छ । 

६ महिनामा ४२ नेपालीको मृत्यु र त्यसमा पनि आत्महत्याको हिस्सा बढी भएकाले दूतावासले विद्यार्थीको आवरणमा नभइ कामकै लागि आउन आग्रह गर्ने गरेको छ । जापानमा नेपाली ठगिएर आत्महत्या खोज्न बाध्य हुँदासमेत यसमा सरकार रमिते जस्तै भएको छ । 

आफ्ना नागरिक कसरी बाध्यतामा परिरहेका छन् भन्ने अनुसन्धानसमेत हुन सकेको छैन । तीन कर्मचारीको भरमा दूतावास चल्दा धेरै धेरै समस्या समाधान हुन सकेका छैनन् । नेपाली दूतावासले सम्हाल्न सकिरहेको छैन । जापानमा पछिल्लो १ वर्षमा १८ हजार भन्दा धेरै नेपाली व्यक्तिगत र विद्यार्थी भिसामा जापानमा छन् । 

जापानमा अहिले करिब ३ लाख नेपाली रहेको छ । त्यसमध्ये अहिले २ लाख ७७ हजार नेपालीले कानुनी हैसियत पाएका छन् । जापान सरकारले १८ वटा विधामा श्रमिक भित्र्याउने भए पनि ८ वटा बिधा नेपालका लागि खुला गरेको छ । नेपालबाट निर्माण, कृषि, सेवा जस्ता क्षेत्रमा जान पाइन्छ । 

त्यसका लागि जापानिज भाषा र सीप सिक्नु पर्छे । यो प्रक्रिया पूरा गर्न कम्तीमा एक वर्ष लाग्ने हुँदा धेरै युवा विद्याथीको आवरणमा जाने र दुःख पाउने गरेका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।