
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो कार्यकालमा अपराध नियन्त्रण भएको र अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ ।
दोस्रो कार्यकाल निर्वाचित भएपछि पहिलोपटक संयुक्त सदन (कंग्रेस)लाई उहाँले झन्डै डेढ घन्टा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । अमेरिकी राष्ट्रपतिले कंग्रेसमा यति लामो सम्बोधन गरेको यो पहिलोपटक हो । उहाँले अवैध आप्रवासीहरूका कारण अमेरिकामा अपराध बढेको दाबी गर्नुभयो ।
गत साता सर्वोच्च अदालतले भन्सार शुल्क बढाउने ट्रम्पको कदममा रोक लगाएपछि उहाँले भन्सार शुल्क वृद्धिका लागि नयाँ कानुनको साहारा खोजिरहनुभएको छ । ट्रम्पले विदेशी कम्पनी र देशहरूसँग ठूलो भन्सार शुल्क लिँदा अमेरिकीमाथि आयकरको बोझ कम हुने भन्दै भन्सार वृद्धिको आफ्नो रणनीतिको बचाउ गर्नुभयो ।
अमेरिकाले स्वतन्त्रतापछिका २ सय ५० वर्षमा धेरै प्रगति गरेको र आफ्नो कार्यकालमा अमेरिका अझै सुदृढ र बलियो बन्ने आशा उहाँले व्यक्त गर्नुभयो । उहाँले अमेरिकासँग विश्वकै शक्तिशाली सेना रहेकाले इरानमा कुटनीतिक माध्यमबाट लक्ष्य हासिल गरिने पनि बताउनुभयो ।
अवैध आप्रवासी नभएर अमेरिकी नागरिकलाई सुरक्षा दिनु अमेरिकी सरकारको पहिलो कर्तव्य रहेको भन्दै उहाँले आफ्नो कार्यप्रति ताली बजाएर समर्थन देखाउन विपक्षी डेमोक्रेटिक पार्टीका सांसद्हरुलाई पनि आग्रह गर्नुभयो ।