‘एलियन’बारेका गोप्य फाइल सार्वजनिक गर्न ट्रम्पको निर्देशन

फाल्गुन १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
‘एलियन’बारेका गोप्य फाइल सार्वजनिक गर्न ट्रम्पको निर्देशन
काठमाडौँ । बाह्यलोकीय जीव 'एलियन'बारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले 'एलियन'बारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक अन्तर्वार्तामा "एलियनहरू वास्तविक हुन्" भनेपछि ट्रम्पले उहाँलाई "गोप्य सूचना" चुहाएको आरोप लगाउनुभएको थियो । यसपछि सामाजिक सञ्जाल 'ट्रूथ सोसल'मार्फत ट्रम्पले एलियन, अनआइडेन्टिफाइड एरिअल फिनोमिना (यूएपी) र अन्आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ) बारे सूचना सार्वजनिक गर्ने घोषणा गर्नुभएको हो ।

ब्रह्माण्डमा बाह्य जीवको अस्तित्व छ कि छैन भन्ने विवाद र तर्क विगतदेखि नै हुँदै आएको छ । आकाशमा अनौठा वस्तुहरू देखिएको विमान चालकहरू र अमेरिकी सैन्य अधिकारीहरूले बताउँदै आएका पनि छन् । यही सन्दर्भमा ती फाइल र सूचना सार्वजनिक गर्ने ट्रम्पको घोषणाले यो विषय झन् रोचक बनेको छ ।

यसअघि पनि एलियनको अस्तित्वबारे अमेरिकामा पटक पटक बहस छेडिने गरेको थियो । सन् २०१७ मा अमेरिकी रक्षा मन्त्रालयले एलियनबारे छानबिन गर्न एउटा गोप्य कार्यक्रम सञ्चालन गरेको थियो भने सन् २०२२ मा अमेरिकी कङ्ग्रेसमा यूएफओबारे संसदीय सुनुवाइ भएको थियो । सुनुवाइमा पेन्टागनले त्यसबारे पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको थियो ।