पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा पुनः तनाव

१८ जना मारिएको तालिबानकाे दाबी
फाल्गुन १०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा पुनः तनाव

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा पुनः तनाव चर्किएको छ । 

पाकिस्तानले गरेको पछिल्लो हवाई आक्रमणमा १८ जना मारिएको तालिबान सरकारले जनाएको छ । मारिनेमा महिला र बालबालिका छन् । सीमा क्षेत्रस्थित लडाकूका सातवटा केन्द्रलक्षित गरेर आक्रमण गरिएको पाकिस्तानले जनाएको छ। अफगानिस्तानले भने सर्वसाधारणका घर र धार्मिक स्कुललाई निशाना बनाएर आक्रमण गरिएको आरोप लगाएको छ। 

नान्गारहार र पाक्तिका प्रान्तमा आक्रमण गरिएको तालिबान रक्षा मन्त्रालयले जनाएको छ । अफगान रक्षा मन्त्रालयले उक्त आक्रमण आफ्नो मुलुकको अखण्डता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको टिप्पणी गरेको छ । गत अक्टोबरमा भएका झडपपछि दुवै देशबीच युद्धविराम भए पनि पटक-पटक सीमा क्षेत्रमा गोली हानाहानका घटना हुँदै आएका छन् । 

केही दिनअघि मात्र अक्टोबरको झडपका क्रममा काबुलमा पक्राउ परेका तीन पाकिस्तानी सैनिक साउदी अरेबियाको मध्यस्थतामा रिहा भएका थिए ।