राष्ट्रिय लिग फुटबल पुनः सुरू, एपीएफकाे सुखद् सुरूआत

फाल्गुन १०, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग फुटबल पुनः सुरू, एपीएफकाे सुखद् सुरूआत

काठमाडौं । एन्फा महिला च्याम्पियनसिपका कारण रोकिएको राष्ट्रिय लिग फुटबल १५ दिन पछि पुनः सुरू भएको छ । 

लिगमा विभागीय टोली एपीएफ क्लबले सुखद् सुरूआत गरेको छ । एपीएफले नवजागृति युवा क्लबलाई ४-१ ले पराजित गर्दै आफ्नो पाँचौँ जित हात पारेको हो । नवजागृति भने हालसम्म ६ खेल खेल्दा जितविहीन छ । पहिलो हाफमा फितलो प्रर्दशन गरेको एपीएफले दोस्रो हाफमा मात्र लय लिएको थियो ।

३०औँ मिनेटमा निश्चय थापाले गोल गर्दै नवजागृतिलाई अग्रता दिलाए पनि ४३औँ मिनेटमा कप्तान हरि कार्कीले खेल बराबरीमा ल्याएका थिए । र, पहिलो हाफ १-१ को बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै एपीएफले खेलमा अग्रता बनायो ।

५६औँ मिनेटमा समिराज थोकरमार्फत एपीएफले अग्रता फराकिलो बनायो । त्यसको दुई मिनेटमै अनिश घर्ती क्षेत्रीले विभागीय टोलीका लागि चौथो गोल थपे । जितसँगै एपीएफले शीर्षस्थानमा रहेको मछिन्द्रसँग अकं बराबरी गरेको छ ।