टी-२० विश्वकपको सुपर ८ मा इंग्ल्यान्डको सानदार सुरूआत

फाल्गुन १०, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपको सुपर ८ मा इंग्ल्यान्डको सानदार सुरूआत

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को सुपर ८ मा इङ्ल्यान्डले आयोजक श्रीलंकालाई ५१ रनले पराजित गरेको छ । 

आइतबार, पाल्लेकेले रंगशालामा श्रीलंकाविरूद्ध एकपक्षीय खेल पस्कँदै इङ्ल्यान्डले सुपर ८ मा सानदानर सुरूआत गरेको हो । श्रीलंकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि इङ्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । 

इङ्ल्यान्डका लागि प्रारम्भिक ब्याटर फिल साल्टले ४० बलमा ६२ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए । श्रीलंकाली बलरमध्ये दुनिथ वेल्लालागेले ४ ओभरमा ३ विकेट लिए भने महीश थीक्शाना र दिलशान मदुशंकाले २-२ विकेट आफ्नो नाममा गरे ।

तर १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलंकाको पारी सुरूदेखि नै धरमरायो । इङ्ल्यान्डको धारिलो बलिङ र उत्कृष्ट फिल्डिङका अगाडि श्रीलंकाली ब्याटर टिक्न सकेनन् । १६ दशमलव ४ ओभरमा मात्र ९५ रनमा श्रीलंका अलआउट भयो । श्रीलंकाले पावरप्लेभित्रै आफ्ना ५ महत्त्वपूर्ण विकेट गुमाएको थियो ।

श्रीलंकाका लागि कप्तान दासुन शनाकाले बनाएको ३० रन नै सर्वाधिक स्कोर रह्यो । इङ्ल्यान्डको जितमा अलराउन्डर विल ज्याक्स नायक बने । उनले ४ ओभरमा ३ विकेट लिए । त्यस्तै, जोफ्रा आर्चर, लियाम डसन र आदिल राशिदले समान २-२ विकेट आफ्नो नाम गरे ।

जितसँगै इङ्ल्यान्ड सुपर ८ को समूह २ को तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । यो श्रीलंकाविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा इङ्ल्यान्डको लगातार १२औँ जित हो । अब इङ्ल्यान्डले आफ्नो अर्को खेल फेब्रुअरी २४ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।