
काठमाडौं । बंगलादेश राष्ट्रिय पार्टी-बीएनपीका अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
जातीय संसद् भवनको साउथ प्लाजामा मंगलबार साँझ आयोजित एक समारोहबीच राष्ट्रपति मोहम्मद सहाबुद्दिनले रहमानलाई प्रधानमन्त्री पदको सपथ दिलाउनुभएको छ । प्रधानमन्त्रीसँगै २५ मन्त्री र २४ राज्यमन्त्रीले पनि सपथ लिएका छन् ।
नयाँ मन्त्रिपरिषद्मा विदेश मन्त्रालय खलिलुर रहमान र वित्त तथा योजना मन्त्रालयको जिम्मेवारी अमीर खसरूलाई दिइएको छ । यसअघि मंगलबारनै बसेको बीएनपी संसदीय दलको बैठकले अध्यक्ष रहमानलाई संसदीय दलको नेता चयन गरेको थियो । सपथ समारोहमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरेबिया, टर्की, यूएई, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधि सहभागी थिए ।
मंगलबारनै बीएनपी नेतृत्वको गठबन्धनका २ सय १२, जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनका ७६ र ७ स्वतन्त्र सांसदले पनि सपथ लिएका छन् । बंगलादेशको जातीय संसद्मा कुल ३ सय ५० सिट रहेकोमा बीएनपी नेतृत्वको गठबन्धनले दुई तिहाइभन्दा बढी सिटमा विजयी हुन सफल भएको हो । ५० सिट महिलाका लागि आरक्षित छ ।
यसमा पार्टीहरूले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधारमा मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ । यसैबीच नवनियुक्त बंगलादेशी प्रधानमन्त्री रहमानलाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बधाइ दिनुभएको छ । उहाँले दुईपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र आपसी सहयोग विस्तार गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।