कर्णालीका एक सय १७ वडा स्वास्थ्य चौकीविहीन, चुनावको मुखमा भने उम्मेदवारका वाचै-वाचा

प्रसूति सेवादेखि रुूघाखोकीसम्मको उपचार भगवान भरोसा
फाल्गुन १०, २०८२ |डीबी बुढा
कर्णालीका एक सय १७ वडा स्वास्थ्य चौकीविहीन, चुनावको मुखमा भने उम्मेदवारका वाचै-वाचा

जुम्ला । हरेक निर्वाचनमा अधिकांश दलहरूले कर्णालीका दुःखलाई घोषणापत्र र चुनावी अभियानमा चर्चा गरे पनि कर्णालीका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था सुध्रन सकेको छैन । 

एक त भौगोलिक असहजताले समयमै औषधि पुग्न सक्दैन भने दरबन्दी अनुसारको जनशक्ति नहुँदा कर्णालीबासीले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । जुम्लाको तिला गाउँपालिका-९ माथिल्लो खोप्रीकी २७ वर्षिया रमिता थापालाई दुई साताअघि सुत्केरी व्यथा लाग्यो। 

आफन्तले स्ट्रेचरमा बोकेर रमितालाई बर्थिङ सेन्टर रहेको राँसा स्वास्थ्यचौकीतर्फ लगे। बिच बाटामै झन्डै दुई फिट हिउँ जमेको चायापाटनमा उहाँ सुत्केरी हुनुभयो । बच्चाको नाभीसमेत ढुंगाले काटियो । यो घटनाले अहिले पनि कर्णालीको स्वास्थ्य अवस्था कति प्रभावकारी छ भन्ने देखाइरहेको छ ।

तीन महिनाअघि मुगुमा छायानाथ रारा नगरपालिकासहित मुगमकार्मारोङ र खत्याड गाउँपालिकामा मौसमी लु फैलिएर झन्डै चार सय जना बिरामी भए। स्थानीय स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारण जिल्ला अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयबाट गएको चिकित्सकको टोलीले मात्र प्रकोप नियन्त्रणमा लिन सक्यो।

कर्णालीमा समयमै उपचार नपाएर पछिल्ला ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भएको छ। कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३३ सुत्केरीको मृत्यु भयो। तीन वर्षअघि १७ सुत्केरीले ज्यान गुमाए। गत आर्थिक वर्षमा १४ र चालु आर्थिक वर्षमा ९ जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्यांक छ। 

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत वर्ष गरेको अध्ययनअनुसार कर्णालीमा २३ दशमलव ६ प्रतिशत परिवार मात्रै आधा घन्टामा स्वास्थ्य संस्था पुग्न सक्छन्। कर्णालीमा ३ लाख ७१ हजार १ सय २५ घरपरिवार छ। प्रदेशको १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्याका लागि जम्मा १ सय ८४ चिकित्सकको दरबन्दी रहेको छ ।

कर्णाली प्रदेशभरि ३ सय ५९ बर्थिङ सेन्टर छन्। आर्थिक वर्ष २०७४/७५ अघिसम्म संघीय सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाले जोखिममा परेका गर्भवतीका लागि 'एयर लिप्टिङ' को व्यवस्था गरेको थियो। पछिल्लो तीन वर्षको अवधिमा मात्रै १ सय ५८ जनाको उद्धार गरिएको निर्देशनालयको तथ्यांक छ। 

कर्णालीमा नवजात शिशु मृत्युदरको अवस्था पनि भयावह छ। पछिल्ला ४ वर्षमा ७ सय ७७ नवजात शिशुले ज्यान गुमाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। गत आर्थिक वर्षमा पनि १ सय ९९ शिशुको मृत्यु भएको थियो। कर्णाली प्रदेश योजना आयोगले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनाअनुसार कर्णालीमा नवजात शिशु मृत्युदर एक हजारमा २९ छ।

स्वास्थ्य बीमामा कर्णालीका २९ प्रतिशत नागरिक मात्र सहभागी छन् । स्वास्थ्य सेवातर्फ कर्णालीमा ९ सय ८ जनाको दरबन्दी कायम गरिएकामा ४ सय ६३ जना मात्र कार्यरत छन्। अहिले कर्णालीमा १ सय ८४ चिकित्सकको दरबन्दी रहे पनि करारबाहेक ३२ दरबन्दी मात्रै पूर्ति भएको छ। 

कर्णालीमा चिकित्सक टिकाउने नीतिअनुरूप ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता दिइएको छ। कर्णालीमा १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन्। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाहेक अन्य अस्पतालमा नियमित चिकित्सक भेट्टाउन मुस्किल छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका ७९ मध्ये ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्। प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडा छन्। १ सय १७ वडामा स्वास्थ्यचौकी छैन।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।