रूस-युक्रेनबीचकाे शान्ति वार्ता निष्कर्षविहीन

फाल्गुन ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस-युक्रेनबीचकाे शान्ति वार्ता निष्कर्षविहीन

काठमाडौं । चार वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी मध्यस्थतामा जेनेभा भएको रूस-युक्रेन शान्ति वार्ता निष्कर्षविहीन भएको छ ।

रूस र युक्रेनबीच जेनेभामा वार्ता भए पनि दुवै पक्षको अडानका कारण कुनै निष्कर्ष ननिस्किएको बीबीसीले जनाएको छ । यद्यपि अमेरिकी विशेष दूत स्टीभ विटकफले आफू आशावादी रहेको बताउनुभयो । रूस र युक्रेनबीच रूसले कब्जामा लिएका भू-भाग र सम्भावित युद्धविरामका सर्तमा अझै सहमति हुन सकेको छैन । 

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुवै पक्षबीचको मतभिन्नताका कारण वार्ता सहज नभएको बताउनुभयो । रूसले जानाजानी सम्झौतातर्फको प्रगतिमा ढिलाइ गरिरहेको जेलेन्स्कीको आरोप छ । गत जनवरीमा अमेरिकी मध्यस्थतामा अबुधाबीमा भएको वार्तापछि दुवै पक्षबीच बन्दी आदानप्रदान भएको थियो । 

बुधबारको वार्तापछि पनि जेलेन्स्कीले अर्को चरणको बन्दी आदानप्रदान चाँडै हुनसक्ने बताउनुभयो । रूसले युक्रेनको पूर्वी क्षेत्र डनबास, दोनेत्स्क र लुहान्स्क आफ्नो पूर्ण नियन्त्रणमा हुनुपर्ने पक्षमा दबाब बढाइरहेको छ भने युक्रेनले यसलाई अस्वीकार गर्दै आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने बताउँदै आएको छ । 

युक्रेनमा पनि पूर्वी क्षेत्र रूसलाई सुम्पने हो भने अन्य क्षेत्रमा हस्तक्षेप हुनसक्ने धारणा छ । वार्ताको पृष्ठभूमिमा, रूसले यूक्रेनका विभिन्न क्षेत्रहरूमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ ।