अमेरिकासँगको दोस्रो चरणको आणविक वार्ताका लागि इरानी विदेशमन्त्री जेनेभामा

फाल्गुन ४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकासँगको दोस्रो चरणको आणविक वार्ताका लागि इरानी विदेशमन्त्री जेनेभामा

काठमाडौं । अमेरिकासँग मंगलबार हुने दोस्रो चरणको आणविक वार्ताका लागि इरानी विदेशमन्त्री अब्बास अराग्ची जेनेभा पुग्नुभएको छ ।

अमेरिकासँगको वार्ताअघि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीसँग प्राविधिक छलफल हुने विदेशमन्त्री अराग्चीले बताउनुभयो । उहाँले उक्त वार्तामा इरानी आणविक विज्ञहरू पनि सामेल हुने जानकारी दिनुभएको छ । 

अराग्चीले आफ्ना ओमानी समकक्षी बद्र बिन हमद अल–बुसैदीलाई पनि भेट्ने बताइएको छ । उहाँले यसअघि इरान र अमेरिका बीचको पहिलो चरणको वार्तामा मध्यस्थता गर्नुभएको थियो । त्यसक्रममा अमेरिकी अधिकारीहरूले इरानका कारण वार्ता अघि बढ्न नसकेको आरोप लगाएका थिए । 

शनिबार अमेरिकी विदेशमन्त्री मार्को रूबियोले राष्ट्रपति डनल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न चाहे पनि इरानी पक्ष सहमत हुन नसकेको प्रतिक्रिया दिनुभएको थियो । ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्ने सम्झौता नभएमा इरानमाथि हमला गर्ने धम्की दिनुभएको छ । 

अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ । गत शुक्रबारमात्रै ट्रम्पले क्यारेबियन क्षेत्रमा रहेको विश्वकै ठूलो आर्माडा युएसएस जेराल्ड फोर्डलाई मध्यपूर्वतर्फ जान आदेश दिनुभएका समाचार सार्वजनिक भएका थिए । अमेरिका र इरानले फेब्रुअरीको सुरुमा ओमानमा अप्रत्यक्ष वार्ता गरेका थिए ।