रूस, अमेरिका र युक्रेनबीचको अर्को त्रिपक्षीय वार्ता फेब्रुअरी १७ र १८ मा हुने

द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि तीनै पक्ष सकारात्मक
फाल्गुन ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस, अमेरिका र युक्रेनबीचको अर्को त्रिपक्षीय वार्ता फेब्रुअरी १७ र १८ मा हुने

काठमाडौं । युक्रेन, अमेरिका र रूसबीचको अर्को त्रिपक्षीय वार्ता यही फेब्रुअरी १७-१८ मा जेनेभामा आयोजना हुने भएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले वार्तामा रूसी नेतृत्व राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर मेदिन्स्की गर्ने जानकारी दिनुभएकाे छ । युक्रेनका मुख्य वार्ताकार रूस्तेम उमेरोभले सामाजिक सञ्जालमा जानकारी दिँदै युक्रेनी टोली पूर्णरूपमा गठन भइसकेको बताउनुभयो । 

उहाँले टोलीमा सैन्य, राजनीतिक र सुरक्षा पक्षहरू समावेश रहेको पनि बताउनुभयो । उहाँले वार्ताको मुख्य उद्देश्य स्थायी र दीर्घकालीन शान्ति सुनिश्चित गर्नु रहेको स्पष्ट पार्नुभयो । तीन देशबीचको सुरक्षासम्बन्धी पहिलो त्रिपक्षीय परामर्श जनवरी २३-२४ मा अबुधाबीमा सम्पन्न भएको थियो, जहाँ रूसी टोलीको नेतृत्व सैन्य खुफिया प्रमुख इगोर कोस्ट्युकोभले गर्नुभएको थियो । 

दोस्रो चरणको वार्ता फेब्रुअरी ४-५ मा अबुधाबीमा सम्पन्न भएको थियो । त्यसपछि अमेरिकी विशेष दूतले रूस र युक्रेनबीच ३ सय १४ युद्धबन्दीको आदानप्रदानमा सहमति भएको जानकारी दिएका थिए । नयाँ चरणको वार्ता द्वन्द्व अन्त्य र शान्तिपूर्ण समाधानतर्फको सकारात्मक र महत्त्वपूर्ण पहलको रूपमा हेरिएको छ।